चङ्गा चेट्...........
राजेन्द्र बानियाँ प्रिन्सिपल – सीइए हाइ स्कूल
आहा क्या रमाइलो, हरेक नेपालीको घरमा अब चाडको लर्को लाएर आउँदैछ । हिन्दू धर्म मान्ने नेपालीलाई त चाड आउन सुरु गरेको धेरै भइसक्यो । हुन पनि नेपाली समाजमा हिन्दू धर्मावलम्बीहरुलाई त रक्षाबन्धनदेखि नै चाडको लर्को लागेको मान्ने चलन छ । तर नेपालमा विभिन्न जातजाती, धर्म , संस्कृति र समुदायको बसोबास छ भनेरै होला यहाँ चाड पनि विभिन्न प्रकारका छन् । हिन्दूहरुले दशैं र तिहार मान्दै गर्दा नेवार समुदायले त्यसमा न्हूँदयाको भिन्तुना थपिहाल्छ । उता तराइका बासिन्दा र उनको विदेह या मिथिला संस्कृतिले छठलाई जसरी मित्रता र सामाजिक मिलनको उत्सवको रुपमा मनाउँछ, यसले आजको दिनमा त के पहाड, के तराई , के हिमाल जसरी छोपिसक्यो ।यसैको छेको पार गर्दै बुद्ध धर्मावलम्बीहरुको नयाँ बर्ष ल्होसार र इसाइ धर्मावलम्बीहरुको क्रिसमस पनि लाइनमा खडा भएर बसेका छन् । यस अर्थमा पनि अब चाडको मौसम सुरु भयो भन्न खासै गाहे भएन । तर कतिपय अबश्थामा हामी यो मेरो र यो तेरोको नाममा चाडहरुलाई विभाजन गर्ने र त्यसका विरुद्ध बिषबमन गर्न पनि पछि पर्दैनौं । कुनै पनि धर्म र चाडका प्रतिक भगवानका स्वरुपहरुले अर्को धर्म र समुदायलाई समावेश नगराउनु या अवहेलना गर्नू भन्दैन । भगवान पनि रुपमा मात्र फरक हुन् , सारमा एकै हुन् । पूजा गर्ने स्थान र प्रार्थना गर्ने तरिका फरक हुन्, उद्धेश्य र मुकाम एउटै हो भन्ने बिर्सनु हुँदैन ।
यो आलेखमा म नजिक आउँदै गरेको दशैं र त्यससँग जोडिएका विभिन्न पक्षका बारेमा उल्लेख गर्दैछु । सबभन्दा पहिले मेरो केटाकेटीको दशैं, त्यससँग जोडिएका केही रमाइला र घतलाग्दा पक्षका बारेमा बताउँछु । चाडबाडको रमाइलो सबभन्दा बढी केटाकेटीलाई नै हुन्छ । केटाकेटीलाई के छ र ? निर्धक्क लागेको कुरा माग्नु, रमाइलो गरेर केटाकेटी जम्मा भएर हिड्न पाउनु, भोक लाग्नासाथ खाना माग्नु र खानु यसमा जस्तो मस्ती केमा पो मिल्छ र ? चाडबाडमा पढ्न पनि नपर्ने , घरका मान्छेले खासै काम पनि नलगाउने अझ नयाँ लुगा लगाएर ठाँटिएर हिड्न पाइने भएपछि बाह्ै महिना चाड आएपनि हुने जस्तो लाग्ने नै भयो ।
तर आजको दिनमा भने अलिक फरक भइसक्यो । विद्यालयहरुले चाडसँग सम्बन्धित बिषयमा परियोजना कार्यहरु दिएका हुन्छन् । ति कार्यहरु गर्दा विद्यार्थीलाई कतिपय थाहा नभएका पाटाहरु ज्ञात् मात्र हुदैनन्, यसले अनुसन्धान र अध्ययनको पाटो पनि फराकिलो बनाउँछ । फेरि चाड भनेर किताबै नपल्टाउने गर्दा घाटा आफैंलाई हुन्छ, त्यसैले चाडका बेलापनि समय छुट्याएर पढ्न चाहि नभुल्ने कि ?
घरका बाआमाले यी सबै व्यबस्थापन कसरी गरेका होलान् भनेर सोच्ने उमेर पनि होइन केटाकेटी भनेको । तरै पनि बाआमालाई सकस कति परेको होला सबै चिज ब्यबस्थापन गर्दा भनेर कहिल्यै सोचिएन । आज आएर सोच्दा लाग्छ, बालाई त दशैं खासमा त दशा भएर पो आउँदो रहेछ । हरेकका घरमा जस्तो मेरा घरमा पनि खसी काट्नै पर्यो , सिंगै । हरेक घरमा जस्तै भएपनि नभएपनि अन्य मिष्ठान्न नजुटाउनै पर्यो, खेतै बेचेर या चर्को सुदमा ऋण लिएर भएपनि नयाँ लुगा किन्नै पर्यो, अनि आफन्त आउँदा या आफन्तकोमा जाँदा सानका साथ पारिवारिक इज्जत त राख्नै पर्यो । जब आज बुझ्ने भइयो अनि मेरो मनमा प्रश्न छ , यो चाडका नाममा ऋण बोक्ने र रमाइलो गर्ने परम्परा ठीक कि बेठिक ?
एउटै घरमा एउटा यामान्को खसी काट्नुको अरु विकल्प छैन र? हुन त भगवानको लेखी त सबै जनावर बराबर होइनन् र ? जनावरहरुले आफ्ना भावना व्यक्त गर्न सक्तैनन् , त्यसो भन्दैमा भगवानको सृजना या सृष्टिको रचनामा यी जनावर हामीलाई खान या भगवानलाई चढाउन सृष्टि गरिएका हुन् त ? भगवानले रगत खाएर या बली बुझेर खुसी व्यक्त गर्नुभएको होला त ? यसको विकल्प हुन सक्तैन र ? म कतिपय समुदायको कुल पूजामा जाँदा खिर बाबर पकाएको पाइन्छ , खुसी लाग्छ । तर दशैं त्यो पनि मासुविनाको परिकल्पना गर्नै सकिन्न या यस्तो परिकल्पना खोक्रो आर्दश हुन्छ भनेपनि एउटा एउटा खसी, राँगा या जनावरको सट्टामा समुदायमा बाँडेर सबैले ताजा खाने बनाउँदा के फरक पर्छ र ? फेरि गरिबले केही बिसौली उधारो सापटीमा मागेर ल्याएर पनि जहानको पेट भर्ने अनि धनीकोमा मासु कुहिएर कुकुरले पनि नसुँघ्ने बनाउनु जायज हो र ? यस मामलामा म मुस्लिम दाजुभाईको आहानलाई बढी सम्झन्छृु । हुन त विश्वमा मुस्लिम धर्मावलम्बीहरुलाई बढी आतंककारी गतिबिधीमा संलग्न भएकोमा आलोचना गरिन्छ । मलाई लाग्छ, कुनै समुदाय आफैंमा आतंककारी हुँदैन ।
मैले यहाँ कुरा गर्न खोजेको चाहिँ उनीहरुको इदमा गरिने मासु विभाजन र आम्दानी विभाजनको हो । जति नै धनी या गरिबले पनि कमाइको एक दशांश अल्लाहको नाममा अरुलाई बाँड्नै पर्ने नियम हुन्छ ( सायद जकात) मुस्लिम समुदायमा । अनि काटेको बखरी पनि एक तृतियांश गरिबलाई दिनैपर्ने नियम छ। बरु स्वार्थप्रेरित समाजमा यो कति कार्यान्वयन भएको छ कुन्नी ? तर राम्रा कुरा त जसको पनि नक्कल गर्न मिल्छ नि हैन र ? हामीले पनि बरु समाजमा मिलेर आपसी बाँडेर खाने र हुनेले नहुनेलाई दिने प्रथा बसाल्दा कति राम्रो होला । आखिर भगवानको नजरमा कोही धनी र गरिब हुँदैन । मरेर जाँदा कसैले पनि कमाएको धन लिएर जाँदैन, यश लिएर जाने हो ।
अर्को कुरा भो, नयाँ लुगाको । मलाई त दशैंमा नयाँ लुगा लगाउन पाइन्छ भनेरै दशैं आइदिए हुन्थ्यो भन्ने लाग्दथ्यो तर आज त त्यस्तो अबश्था कसैमा पनि छैन होला यसमा थप बहस नगर्दा नै बेस । दशैंको अर्को भुली गएको दुईवटा पाटा छन् । एउटा सामाजिक पाटो, त्यो भनेको गाउँ समाजका सबै मिलेर बाटो, धारा, चोक, चौर सफा गर्ने । आज पनि गाउँ जाँदा म हेर्छु । बाटाहरु भत्किएका छन् , सडक पुगेका ठाउँमा त बाटा बिर्सिएका छन् ।
हुन त गाउँमा बाटामा हिड्नै को पो भए र ? चाडबाडमा जम्मा हुने बाहेक अरु बेलामा त गाउँ यसरी परित्यक्त बनिसक्यो, न मलामी मिल्छन् न जन्ती ? यो हालत भएपनि कम्तिमा पनि चाडले एउटा संजोग चाहिँ जुटाइदिएको छ। जति नै बेफुर्सदी भए नी चाडबाड पारेर जन्मथलो फर्कने बानी अधिकांशको छ । मलाई दशैं लागे पछि कति चाँडो घर जान पाए हुन्थ्यो भन्ने अहिले पनि लाग्छ । मौसमका हिसाबले पनि शरद ऋतुमा पर्ने दशैंमा खुलेको मौसम अनि न जाडो न गर्मी । व्यस्त जीवनका बीच आफ्नो बाल्यकाल बिर्साउने पाखा पखेरा पुग्न पाइने ।
केटाकेटीमा जिस्केका र झगडा गरेका साथीभाइबीच पुराना कुरामा नोस्टाल्जिक हुन पाइने अनि जन्मथलोसँग प्रिती साट्न पाइने । बरु आँप टिप्न चढेको रुख अनि घाँस झार्न समातेका डाला र हाम्फालेका कान्ला सम्झँदा भने जिउनै सिरिङ्ग पो हुन्छ त । अर्कोतिर जन्मथलोको सेवा र सम्झनाका लागि भनेनी ति बाटा सफा राख्न पाए, पँधेरो सुग्घर गर्न पाए, पाटी जीवित राख्न पाए आउने पुस्ताले अग्रजको इतिहास अवलोकन गर्न पाउँथ्यो कि ? मलाई अझै सम्झना छ, बाटो खन्न , फाँड्न या कुवा सफा गर्न बोलाइएको ठाँउमा जान पाइएन भने आफैमा गाउँले शरम मान्थे , आजको मान्छे काममा जानुपर्यो भने सरम मान्न थाले । अर्को रमाइलो भनेको भेट हुने चौतारी । डोरी र लिङ्गोले बनाउने डोरी पिङ्ग अनि काठबाट बनाइने रोटे पिङ्ग । आज त खाली फन पार्कमा सिमित भए यी मनोरन्जन । तसर्थ, गाउँ बिउँझाउने र जीवित राख्ने हो भने सम्झनै पर्ने काम र सम्हाल्नैपर्ने जिम्मेवारी हुन् यी ।
गाउँ समाजको बीचमा हुन्थ्यो पिङ्ग अनि हल्लाइन्थ्यो खडखडे । बुर्जाथ्यो मेरो दाउ तर म अधिकांश समय हार्थेँ ।
अहिले खड्खडेले पनि शहर पसेर जुवाको पो रुप धारण गरिसक्यो । बुढापाका दशंै लागेसी यमपन्चक नसकिँदासम्म तासको खालमा हुन्थे , कति नखेल्ने पनि हुन्थे । त्यो तास जुवा हुन्थेन । उनीहरु गाउँको बीचमा ठुलो आँगन या धन्सारमा जम्मा भएर खाँदै रमाउँदै सत्र खेल्थे, मेरिज भन्ने त आको पनि थिएन बरु अन्य केके नाम थिए मलाइ सम्झना भएन। बुबाले एक सय रुपैया दिएर तास खेल्न पठाको अहिले पनि सम्झना छ मलाई । तर आज त युवाले तासलाई लत र व्याबसायजस्तै बनाए, कतिपय गाउँ क्यासिनो नै बन्ने पो हो कि जस्तो भइसक्यो । तास मनोरन्जनका लागि भन्ने छोडेर त्यसैमा लत बसाउँदा त्यसले जीवन बर्बादी गर्छ । एउटा गित सम्झन्छु...
नखेल्नु है जुवा र तास , ज्यानको नास जीवनको बर्बाद ।।
हुँदाहुँदा परिवारका अग्रजको सिको गरेर साना केटाकेटीपनि फराँस, इन बिट्वीन या जोडा मिलाउने खेल्न थालेको पाइन्छ । तर बिर्सनै नहुने कुरा के हो भने लत भनेको अनौठो हुन्छ । चुरोट पनि पहिले चाख्ने नै हो रमाइलो या करकापमा । खैनी पनि त्यस्तै हो । जतिबेला यो खराब हो भन्ने थाहा हुन्छ , त्यतिबेला अम्मली बनिसकेको हुन्छ । तास पनि त्यस्तै हो , सानामा रमाइलोलाई देखासिकी गरेर थाल्यो पछि त्यसैले जीवनलाई नरक बनाउँछ ।
छोरा भनेपछि दक्षिणा पनि कमै हुन्थ्यो , नेपाली समाज जहाँ आज कोक्रोकी छोरीदेखि कुप्रिएकी हजुरआमा बलात्कारको शिकार भएका समाचार सार्वजनिक भइरहेका छन् । खासमा नेपाली समाज त्यस्तो होइन ।
छोरीको खुट्टा ढोग्ने र उनैलाई दक्षिणा पनि दिने तर छोराले चाहिँ दक्षिणा पनि नपाउने र उल्टो ढोग्नुपर्ने । मैले यसलाई विभेदकारुपमा बुझेको र कतिपय अबश्थामा विद्रोह गरेको पनि याद छ । तर आज आउँदा कति अघि रहेछ हाम्रो परम्परा जस्तो लाग्छ । छोरीहरुलाई नभनीकन चाहिने कति खर्च हुँदा रहेछन् अनि उनीहरु ति पैसा सम्हालेर राख्दा रहेछन् । हामी छोरा भने दक्षिणा केही गरि मिल्यो भने पहिले खड्खडे अनि बाँकी टिका लगाउन दौडने । कति छोरीहरुको त दशैं तिहारको दक्षिणाको पैसाबाट उनीहरुले पेवापात जोडेको पनि पाइन्छ । खासगरी बाख्रा हुन्थे उनका पेवापात । यो राम्रो जोगाडको माध्यम रहेछ , परेका बेला बेच्यो गर्जो टार्यो ।
दशैंको अर्को महत्वपूर्ण पाटो भनेको आफन्तजनकोमा जाने पनि हो । बिहे गरेका छोरी होस् या ज्वाँई टिका लगाउन र आर्शिवाद थाप्न माइती र ससुराली सोली बोकेर जाने परम्परा छ । पहिले यातायात नहुँदा त लामो बाटो दिनैभरी लगाएर जानुपर्ने अझ बच्चाबच्ची पनि लिएर जानुपर्ने । टिकाका केही चलन मैले देखेको छु । ठाउँपिच्छे फरक रित छन् । ससुराली आएका ज्वाईँका कोट भर्खर बिहे गरेकी छोरीले बोकेको देख्दा मलाई पनि बिहेपछि त्यसरी नै कोट बोकाएर ससुराली जाने रहर खुब लाग्थ्यो त्यतिबेला क्या सान होला जस्तो जसरी अहिलेका केटाकेटी सिग्रेट र मादक पदार्थ तान्दा सान सम्झन्छन् नी ।
कैयन् ठाउँमा आजभोलि विजया दशमीकै दिनमा मात्र टिका लगाउने परम्परा छ, कतिपय स्थानमा कोजाग्रत पूर्णिमाको दिनसम्म टिका थापिन्छ त कतिमा सामूहिक टिका लगाउने परम्परा समेत सुरु भएको छ। यसमा खासगरी यो नाता या त्यो नाताकोमा जाने र जानैपर्ने भन्ने हुन्न दशैंको टिका र आर्शिवाद । धेरैकोमा जानुपर्ने अनि टाढा पनि भएकाले पूर्णिमासम्म टिका लगाउने परम्परा बसेको होला यसलाई बैज्ञानिक नै मान्नुपर्छ । यसैगरी समूहमा जम्मा भएर टिका लगाउँदा सन्चो विसन्चोदेखि निकटता बन्ने, परिचयकाकारण सहयोग आदानप्रदान हुनेजस्ता सहकार्यका आयाम खुल्छन् । टिकाकै कुरा गर्दा टिका लगाउने चलन पनि फरकफरक छन् ।
मैले देखेको दशैंको टिकामात्र होला निधारभरी लगाउने । कतिपय ठूलाबढाले ठूला निधार भएकालाई धेरै टिका लगाइदिन पाएकाले कति भाग्यमानी भनेको पनि सुनेको छु । बरु आजकाल अलि आफूलाई विकसित र आधुनिक भन्नेले मलाई त टुक्कमात्र लगाइदिनू भनेको पनि सुनिन्छ । टिका कतै रंगिन त कतिपय समुदायले सेतो चामलको पनि लगाको पाइन्छ । टिका कसले लगाइदिने भन्ने पनि फरकफरक चलन रहेको पाइयो । भन्दा त दशैंको टिका ठूलाको हातबाट लगाउने र आर्शिवाद थाप्ने भन्ने नै हो तर खासगरी माइतीमा ठूलाबडा नहुँदा सानाले नै टिका लगाइदिएको पनि अनुभव मसँग छ। मेरा फुपुहरु टिका लगाउन आउँदा फूपु, फूपाजु लगाउतलाई टिका दक्षिणा मैले नै गरेको मलाई थाहा छ। अर्को फरक चलन चाहि कतै दिदीबहिनी माइतीमा टिका जमरा थाप्न आएको त कतै चाहि दिदीहरुकोमा भाइबहिनी टिका लगाउन जाने गरेको पनि पाइन्छ ।
समग्रमा दशैंलाई आफन्तजन भेट्ने, रमाइलो गर्ने र बर्षभरीको दुख भुल्ने चाडकारुपमा लिन सकिन्छ ।
अर्को गज्जबको कुरा अन्य बेलामा पूजाआजा पछि टिका र फूल लगाइदिने चलन हुन्छ तर दशैंमा चाहिँ जमरा । त्यसैले पनि जौ , मकै , धान आदि मिसाइएको र घाम नछिर्ने गरी छोपेर र पूजा गरेर दश दिन राखिएको जमराले प्रकृति र बनस्पतिप्रतिको लगावलाई इंगित गर्दछ । विश्वमा एउटै चाडमा यतिधेरै दिन विदा हुने चाड पनि यहि होला ।हुन त अन्य कतिपय चाड रमजान लगायत महिनादिन भरी मनाउने प्रचलन पनि छ तर सरकारले सार्वजनिक विदा दिएर दशैं जसरी धुमधामले मनाइन्छ , यसलाई कम आँक्न हुन्न । यसको उपादयेता या सन्देशमा पनि देवी भगवतीको किर्ति र यश ,जसले नारी सम्मान र शक्तिलाई इंगित गर्छ । यसैगरी असुरमाथि दैवी शक्तिको विजय यानेकी असत्यमाथि सत्यको विजय आफैंमा शास्वत् छ।
समग्रमा दशैंमा चङ्गा अर्को नबिर्सने बिषय हो । तर चङ्गा उडाउँदा बिशेष ध्यान पुर्याउनु पर्दछ । कतिपय अवश्थाले चाडको रौनकमा दुर्घटना भएका पनि छन् । साबधानीपूर्वक चङ्गा उडाइएन भने विजुलीको तारमा पर्ने, छतबाट लडिने पनि घटना सुनिएका छन् , यसतर्फ ध्यान दिन जरुरी छ। तर दशैंमा नगरे कहिले गर्ने चङ्गा चेट् ।।
राजेन्द्र बानियाँ
प्रिन्सिपल – सीइए हाइस्कूल ,
बरिष्ठ टेलिभिजनकर्मी– एभिन्यूज टेलिभिजन , महासचिव– प्याब्सन केन्द्रीय समिति
No comments:
Post a Comment