बाल्यकालको दशैं
हुन त म त्यस्तो दाह्री
कपाल फुलेर सेतै भएको, ख्वांग-ख्वांग खोकिरहने, रोकि-रोकी बोलिरहने बुढो मान्छे त
होइन, जसले ७०/८० बर्ष पहिलाको अनौठो दशैंको कथा सुनाओस l
तथापि मेरो दशैं फरक
थियो र अहिलेको सन्दर्भमा “बिशेस” पनि हुन्थ्यो l किनभने दशैं आउदा एक्लै
आउदैनथ्यो l दशैंमा विदेशबाट आफन्तको लर्को आउथ्यो, नयाँ लुगा आउंथ्यो, केहि कलर र
ब्रसको पाहुर आउथ्यो, चकलेट र कमिक्सको किताब आउथ्यो, अनि ति सबैसंग अत्तर र
नरिवलको तेलको बासना, नयाँ रेडियो वा टेपरिकर्डर आउथ्यो l आउथे, हरिदेबी कोइराला,
बम बहादुर कार्की र पुरुसोत्तम न्यौपानेका गीतका क्यासेटहरु l
त्यत्ति मात्रै होइन,
गाउँमा “अच्छा”, “लेकिन”, “क्यानाम”, “हाँ जी” जस्ता लवज आउथे l अजरुद्दीन, बिनोद
काम्ले र सचिनका ब्याटिंगका कुरा आउथे l अक्षय खन्ना, जया बादुरी, अमिताभ बच्चनका
फिल्मका कथा, एक्सन र डाइलग आउंथे l
गज्जबको हुन्थ्यो दशैं
l
दशैंमा यत्ति मात्रै
होइन, मासु खाने दिन आउथ्यो l बाहुनको घरमा जन्मेपछी कम्तिमा टन्न मासु खान कि त
भाक्कल गरेको हुनुपर्थ्यो, कि त कुल पुजामा मावल (मामाघर) गा’को हुनुपर्थ्यो, कि त
दशैं आउनु पर्थ्यो l नत्र मासु खाने भनेको आफ्नै नङ टोक्दा नङसंगै आउने मासुको
टुक्रा वा चिनीमा परेको कमिलो मात्र हुन्थ्यो l
दशैँ आउदा कि बुवा आफै
आउनु हुन्थ्यो विदेशबाट, कि त एउटा चिठी र केहि थान कपडा आउथे तर अचम्म, कपडा
कहिले पनि ठिक्क साइजका आउदैन थिए l कहिले साना कपडा आउथे, किनकि बुवा एक बर्ष अघि
बिदेस जाँदा हामी सानै हुन्थ्यो र बुवाले त्यहि अनुमान गर्नुहुन्थ्यो l कि त ठुला
कपडा आउथे, किनकि बुवालाई लाग्थ्यो, हामी ठुला भैसक्यौ होला तर हामी खासै बढेका
हुदैन थियौं, त्यसैले कपडा ठुला हुन्थे l तर ती कपडा सिर्फ कपडा भएर आउदैन थिए,
बुवाको माया भएर आउथे, अँगालो भएर आउंथे, सम्झना भएर, सपना भएर र खुसी भएर आउथे,
त्यसैले हामी जतनले लगाउथ्यौं र गाउँभरी उफ्री-उफ्री देखाउंदै हिड्थ्यौं l
तर, तर कहिलेकाही अचम्म
हुन्थ्यो, बुवाको चिठीमा “अहिले कपडाको
कम्पनी बन्द भएको” खबर पनि आउथ्यो l त्यो खबरले हाम्रो लागि दशैंको खुसीको मुहान
पनि बन्द हुन्थ्यो, हामी सुख्खा टारी खेत जस्ता ओंठ लिएर डुल्थ्यौं l अरुका नयाँ
कपडाका चित्र कत्ति चहकिला भएर आँखामा गड्थे, चोक र चौतारोको बाटो दुस्मन हुन्थ्यो
l छिमेकको आफ्नै साथी (जसले नयाँ कपडा पाएकोछ) पराई जस्तो लाग्थ्यो l
तर जहिले बुवाको चिठीमा
“कपडाको पसल बन्द भएको” खबर आउथ्यो, त्यो बेला पैसा छाप्ने मेसिनले भने दिनरात काम
गरिरहेको हुन्थ्यो होला शायद, नयाँ सर-सर बज्ने भा.रु. आउथे र नजिकैको बजारमा आमा
जानुहुन्थ्यो र टिसर्ट, पाइन्ट र जुत्ता किनिदिनु हुन्थ्यो l अहिले पनि सम्झिन्छु,
म ४/५ वर्षको थिएँ होला, त्यतिबेला करिब ५ सय पर्ने (एकदमै महँगो) बत्ति बल्ने र
चुइचुइ कराउने जुत्ता, Made in Thailand लेखेको ६ सयको टिसर्ट, अनि विदेशबाटै आएको
Timex कम्पनी को गोल्डेन कलरको घडी l साह्रै मन परेका थिए l
अहिले कपडा किन्न दशैं
आउन पर्छ भन्ने छैन l त्यतिबेला पनि दशैं बाहेकमा कपडा नकिनिएका होइनन् तर दशैं
आउदा नयाँ कपडा अनिबार्य नै हुन्थ्यो l मावल (मामाघर) जाँदा होस् वा तिजको डाँडामा
(मेला हेर्न) जाँदा नयाँ कपडाको बिशेस महत्व हुन्थ्यो l
दशैं आउँदा केहि दिन
अघि कपडा सिलाउने मेसिन सहित दमाई दाई आउनुहुन्थ्यो l उहाँ हाम्रो बालीघरे (पैसा
दिन नपर्ने, बार्षिक रुपमा अन्नबाली दिनुपर्ने) हुनुहुथ्यो l घरको पिंढीमा आएर बस्नुहुथ्यो l “ल च्या खान परो है l” हजुरआमा तिर हेरेर भन्दै
मेसिन बिसाउनु हुन्थ्यो l
तर उहाँ कहिल्यै पनि
हामीले भनेको दिनमा आउनुहुन्थ्यो l आउछु भन्नुहुन्थ्यो तर झुट बोल्नुहुन्थ्यो l
उहाँ आउछु भनेको दिनमा कम्तिमा १५ दिन जोड्नुपर्थ्यो l शायद उहाँले जानुपर्ने
थुप्रै घर हुन्थेहोला तर उहाँ सहि नबोलेकोमा दुख लाग्थ्यो l
उहाँलाई बस्नलाई पिढीमा
काम्लो र गुन्द्री बिछ्याइन्थ्यो l हामी
केटाकेटी खुसीले झुम्मिन्थ्यो l कट-कट गर्दै बज्ने मेसिन, हातले घुमाउन मिल्ने
ह्यान्डल, मेसिनको माथि नाच्ने धागो र टाउकोको टोपीमा घुसारेको सियो र खरी अनि
धारिलो कैची l
हामीलाई हेर्न रहर
लाग्थ्यो l तर हामीले नजिक गएको हजुरआमाले जाती मान्नुहुन्नथ्यो l छोइयो भने “छिटो
वा सुनपानी” छर्किनु हुन्थ्यो l
मेरो मन भने चसक्क
दुख्थ्यो l हामी जस्तै मानिससंग छोइदा पनि चोखो हुनुपर्ने? हाम्रै बुवाको उमेरका
उहाँलाई, सबैले तिमी भन्थे, तर “म आफु भन्दा ठुलालाई सम्मान गरेर बोल्नुपर्छ”
भन्ने सुन्दै हुर्केको मान्छे, उहाँ कसरी सम्मानयोग्य हुनुभएन l कौतुहल हुन्थें र
लुकीलुकी छुन्थे l चिया पनि खुसुक्क उहाँ बसेको गुन्द्रीमा छोएर खान्थें l सकेसम्म
उहाँलाई छोएर खान पाए आफुलाई ठुलो सम्झिन्थे l छुवाछुत गलत वा ठिक थाहा थिएन तर
हामी जस्तै मानिसलाई गरिएको भेदभाव मन पर्दैनथ्यो l
दशैँमा दुर्गाको
मन्दिरमा पुजा हुन्थ्यो l एकादशीमा सराएँ खेल्थे l सराएँ (दुर्गा मन्दिरका हतियार
वा राजाहरुका हतियारलाई बिशेस रुपमा सजाएर नचाउदै प्रदर्शन गरिने खेल) खेल्दा झगडा
पनि हुन्थ्यो l हामी साना केटाकेटी घाम नअस्ताउदै घर पुग्थ्यौं l
बाटोमा निधारमा रातो
टिका लगाएर हिड्ने मानिसको घुइचो हुन्थ्यो l दशैंको दिनमा साँझ पख मात्र गाडी
चल्थ्यो l साना-साना नानीहरु पनि मावल जान पाएको खुसीमा लमक-लमक अगाडी हिंडिरहेका
देखिन्थे l नयाँ दुलाहा-दुलहीहरु, बिदेशबाट आएका हिड्न अफ्ठ्यारो भएका लाहुरेहरु,
बाटोमा प्रशस्तै देखिन्थे l घरघरमा तास खेल्ने मान्छेहरु पनि हुन्थे l आफ्नै बुवा,
दाई, भाईसंगै मिलेर तास खेल्थे l गफगाफ गर्दै, रमाइला जोकहरु सुनाउदै तास खेल्दा
हामी भने जितौरो (खेल जितेपछि खुशीले बाँडीने पैसा) पाउने आशामा हुन्थ्यौं l जसले
जितौरो दिन्छ जस्तो लाग्थ्यो, उसैले जितोस् भन्ने कामना गर्थ्यौं तर आफुले आशा
गरेको मान्छेले हार्यो भने मन चसक्क दुख्थ्यो l नमज्जा लाग्थ्यो l तर जुवातास
खेल्नु राम्रो जस्तो भने लागेन l सानो बेला खोलाको किनार, झाडीको बीचमा खुम्चिएर
कच्याककुचुक भएका तासहरू जम्मा पारेर तास नखेलेको पनि होइन तर त्यहाँ रमाइलो महसुस
भएन l त्यो गलत थियो भन्ने नै लाग्यो l
दशैँमा जब टिका थापेर
दक्षिणा पाउने बेला हुन्थ्यो, मन अमिलो पनि हुन्थ्यो l सबै केटी मान्छेले दक्षिणा
पाउथे l हामी केटाहरु भने चामलका सिता निधारमा थोपरेर फलफुल तोक्दै बुढाबुढीलाई
ढोग दिंदै हिड्नुपर्ने l कुनै पर्व, पूजा आदिमा केटीहरुले मात्र दक्षिणा पाउने
चलनले गर्दा “म पनि केटी भएर जन्मिनु पर्ने” भन्ने सोच्थेँ l शायद त्यो दुख आमाले
बुझ्नुहुन्थ्यो होला, बहिनीहरुले जम्मा गरेको जती पैसा खुसुक्क दिनुहुन्थ्यो l
घरमा हुँदा दशैंमा पैसा नपाइने भएकोले सकेसम्म मावल जान मन लाग्थ्यो किनकि मावलामा
यो नियम लागु हुन्नथ्यो l तर पछी मात्र बुझें, ठुलामान्छेको आशिर्वादको मुल्य l
सम्मानको मूल्य l
दशैं पैसा र मासुको
पर्वमात्र होइन l यो त सबै आफन्तलाई भेटघाट गराउने, ठुलाबडाको हातबाट आशिर्वाद र
सद्भाब लिने पर्व पनि हो l
बिस्तारै ठुलो हुन
थाल्यौं, मन्द-मन्द चलेको बतासमा चंगा उडाउनुको रमाइलो बिशेस हुन्थ्यो l कुनै-कुनै
दाईहरु चंगाका “डन” नै थिए l सिसा टुक्रा पारेर पिठोमा भिजाई धागोमा लगाउथे र
सबैका चंगा चेट पारिदिन्थे l सकेसम्म हामी उनीहरु नभएको ठाउँ तिर गएर खेल्थ्यौं तर
आकाशको कता कुनाबाट उनीहरुको चंगा “बाघ” बनेर हाम्रो आकाशमा छिर्थ्यो, हामी
साना-साना बाख्रा बनेर भाग्थ्यौं l
तीज देखि नै बाबियोको
खरले बाटेको पिङ्गमा मच्चिनुको मज्जा बेग्लै हुन्थ्यो l मलाई भने अलिक डर लाग्थ्यो
l अरुलाई देखाउन बेस्सरी मच्चायो तर पिङ्ग फर्किने बेलामा मुटु सिरिंग हुन्थ्यो
तैपनि लुकाउने कोशिस रहन्थ्यो l
घर लिपपोत गर्नु,
ढोका-झ्यालमा रङ लगाउनु दशैंका बिशेस काम हुन्थे l
दशैंको समय देउसीको
भैलोको तयारीमा बित्न थाल्यो l करिब तीज पछी नै तयारी शुरु हुन्थ्यो l कहिले
स्कुलको लागि पैसा उठाउन भैलो खेल्थ्यौं, त कहिले स्थानीय युवा क्लबको सामाजिक
कामको लागि l
रात-रात भर देउशी
खेल्नु र दिन भर सुत्नु त्यतिखेरको रुटिन हुन्थ्यो l
अलिक ठुलो भएपछी दशैंको
अवसरमा सांस्कृतिक कार्यक्रमको तयारी गर्थ्यौं l मेरो भागमा अभिनय गर्ने, नाच्ने,
गाउने, गीत लेख्ने काम पर्थ्यो l त्यो कार्यक्रममा मैले धेरै बर्ष कार्गीलको (भारत
र पाकिस्तानको सीमामा रहेको युद्धग्रस्त क्षेत्र) सैनिकको भुमिकामा निभाएँ l युद्धमा
लड्दालड्दै ढलेको सैनिकले जब घरमा “दशैमा टिका नमुछ्नु, जमरा नराख्नु” भनेर खबर
पठाउँथ्यो, कसैका पनि आँखा ओभाना हुदैन थिए l मलाई पनि चसक्क मन दुख्थ्यो l घर आउन
नपाउनु भएको बुवा, अंकल र आफन्तहरुलाई सम्झिन्थे l उहाँहरुको मनमा के कुरा खेल्दो
हो? कसरी बित्दो हो दशैं? कल्पनामा हराउँथे र आशुँ आफै बगेर आउँथ्यो l
सबैजना रुँदा भने म
मनमनै खुसी हुन्थें, किनकि राम्रो अभिनय गरेछु भन्ने लाग्थ्यो l तर त्यहाँ अभिनयको
प्रभाब मात्र हुन्नथ्यो l ममा आफ्ना छोरा, पति, भाईहरुको बिम्ब हुन्थ्यो l
नाच्दा-नाच्दै गीत गाउन
आयो, गाउदागाउदै नाच्न गयो, बडो हत्तारमा चल्थ्यो समय l गाउँका सबै जना साथीहरु
जम्मा भएर धेरै बर्ष सांस्कृतिक कार्यक्रम गर्यौं l गाउँको बीचमा चौपारी बनायौं l
थुप्रै सामाजिक कामहरु गर्यौं l
अहिले मेरो उमेर
फेरिएकोछ, स्वभाब र संगत अनि खुशी हुने बहाना फेरिएकोछ l
अहिले दशैं कसैलाई दशा
बनेर पनि आउँछ l अनाब्यस्यक तडकभडक र रबाफिलो बनेर आउदैछ l हुँदाखानेहरुको लागि
कठिन हुन थालेको छ, दशैं l हुनेहरुको लागि धन प्रदर्शनी गर्ने मेलो बनेर आउदैछ l
त्यस्तो नहोस् भन्ने लाग्छ l
तर अहिले पनि जब बालबालिकालाई
देख्छु l उनीहरु दशैंमा रमेको देख्छु l ती पुराना स्मृतिका एल्बमहरु दिमागमा
घुमिरहन्छन् l यस्तै-यस्तै अनुभब र सम्झनाहरु आँउछन् l
सबैकुरा उमेर र समयमा त
निर्भर हुनेरहेछ l
No comments:
Post a Comment