लक्ष्मी सम्बाहम्फे,
image source:- alamy.com |
कक्षा:-९, सिइए हाई स्कुल, नयाँबजार, काठमाडौँ
टुक्रा-टुक्रा च्यातिएका गुलाबका पत्ता l
राता l
कुनै कुल्चिएर रगत जस्ता l कुनै यत्रतत्र छरपस्ट
l
मनै कस्तो-कस्तो भो l भाँचिए जस्तो l छिया-छिया
भएजस्तो l
मेरो कोठाको झ्याल अगाडी एउटा गुलाबको फुल थियो l
झ्यालमा बस्दा बासनाले मेरो नाक सुम्सुमाउथ्यो l आज त्यहि फुललाई कसैले च्यातेछ l
कसैले कुल्चिएछ l
मलाई झल्यास्स अनिताको याद आयो l त्यो सुन्दर र
बासनादार गुलाब च्यातिदा मैले अनितालाई सम्झिएँ l उसको जीवन सम्झिएँ l
बर्षको अन्तिम परिक्षा थियो l म प्रवेशपत्र लिएर परिक्षा
कक्षमा गएँ l सिट भेटियो, बसें अनि मनमनै पढेको कुरा रिभाइज गरें l
त्यत्तिकैमा एकजना गोरी, पातली केटी मेरो छेउमा
आएर बसीन् l मसंगै सिट रहेछ l हेर्दा ९,१० बर्सकी l मेहेनती जस्ती लाग्ने उनले
पुरानै कपडा भएपनि चिटिक्क मिलाएर लगाएकी थिइन् l
शिक्षक कक्षामा आउनु भयो l अभिभादन गर्यौं l
लेख्ने पेपर र प्रश्न पाएपछि आफ्नै सुरमा लेख्न थालेँ l संगैको बहिनीको पेपरमा नजर
गयो l अक्षर सफा र सुन्दर थिए l
“दिदी-दिदी” म झसंग भएँ l
“हजुर, के भो बहिनि?”
पेन खोलेर ठाडो पार्दै मतर्फ बढाउदै भनिन् l
“हजुरसँग मसी छ? हेर्नु न मेरो त मसी नै सकिएछ l दिनुस् न थोरै l”
मैले दिएँ l पुनः हामी आफ्नो काममा लाग्यौं l
परिक्षा सकियो l पेपर दिएर हिडें l
यसैगरी केहि दिन बित्यो l तर त्यो बहिनीले मसी
भने सधै मागीरहिन् l
सधै l
मलाई दिक्क लाग्यो l
नदिउँ, उसको परिक्षा बिग्रला भन्ने डर, दिउँ,सधै
मागीरहन्छे l केहि भनौं कि जस्तो पनि नलागेको होइन, तर त्यस्तो रुखो हुन मन लागेन
l अर्को बेन्चमा गएर बसौं कि जस्तो पनि भा’को थियो तर त्यस्तो गरिन l
“हेर न सृष्टी, त्यो बहिनीले वाक्क बनायो, आफुलाई
चाहिने समान त आफै पो ल्याउनु पर्छ, सधै मसी मागेर हैरान भएँ l” मैले सृष्टीलाई
भनें l
“ए त्यो अनिताले? दे’न त. त्यस्तो लोभी हुनुहुन्न
के l”
“एक दिन होइन, दुइ दिन होइन, सधै माग्छ क्या, अनि
तैंले सोँचे जस्तो लोभी पनि छैन क्या l” मैले असन्तुस्टी जनाएँ l
“तिमीहरुले अनिताको कुरा गरेको? त्यसले त हाम्रो
घर नजिकै होटलमा काम गर्छी l होटलको साहुले कस्तो गाली गर्छन् रे, खान र पढ्न पनि
दिन्नन् रे l” निशुले एकै श्वासमा सबै कुरा भनिन् l
ओहो ! अर्काको घरमा काम गरेर पढेको रहेछ, एक्कासी
उसको लागि माया पलाएर आयो l हिजो पनि मालिकले पिटेको र सधै पिटीरहने कुरा निशुले
बताइन l उसको जीवन त्यस्तो होला भनेर मैले सोचेको पनि थिइन l उसको सट्टा म भएको भए
मेरो जीवन के हुन्थ्यो होला? मलाई दु:ख लागिरहेको थियो l
भोलिपल्ट परीक्षाको अन्तिम दिन l म निशुको घरमा
पढ्न जाँदै थिएँ l मैले अनितालाई देखेँ l उनले झन्डै-झन्डै आफु जत्रो नै भाँडा
माझ्दै थिइन् l उनको पछाडि अझै धेरै भाँडा माझ्न बाँकी थिए l होटलमा मान्छेहरु
थुप्रै देखिन्थे l भीडभाड थियो l
उनले धाराको माथि किताब राखेर पढ्दै भाँडा माझ्दै
थिइन् l खाने मुखलाई जुँगाले नछेक्दो रहेछ l
म निशुको घरमा ३,४ घण्टा पढेर फर्कें l अनिता
अहिले पनि धारा मै थिइन् l उनलाई देखेपछि मलाई पनि कतिखेर घर गएर भाँडा माझौं
जस्तो भयो l घर पुगेर जुठा भाँडा नभेटेर सफा भाँडा भएपनि माझें l आमा छक्क पर्दै, मुसुमुसु
हाँस्दै मेरो काम हेर्नुभयो l मैले २ वटा थाल, एउटा गिलास र केहि चम्चा माँझेकी थिएँ
तर पानी भने एक जना मान्छेलाई नुहाउन पुग्ने खर्च गरेकी थिएँ l अलिअलि साबुन पनि
बाँकी रहेछ तर मम्मी खुशी नै हुनुहुन्थ्यो किनकि मैले पहिलो पटक भाँडा माझेकी थिएँ
l
परिक्षा कोठामा मैले आफुले पढेका कुरा सम्झिदै
थिएँ l अनिता सरासर आफ्नो ठाउँमा आएर बसिन् l मलाई उनको बारेमा सोध्ने मन थियो तर
अफ्ठ्यारो लाग्यो l कतै नराम्रो मान्ने हुन् कि जस्तै भयो तैपनि आफैलाई थाम्न सकिन
l “तिमी हिजो भाँडा माझिरहेको होटेलमा काम गर्छेउ हो?” उनले मलाई पुलुक्क हेरिन् र
टोलाएर बसिन् l किन सोधेछु जस्तै लाग्यो l धत् चित्त दुखाएँ भनेर धिक्कार लाग्यो l
उनलाई सहज गराउंदै भने “यदि अफ्ठ्यारो लाग्छ भने नभने पनि हुन्छ l सरी है, नराम्रो
लाग्यो भने.....” एकछिन टोलाएर बोल्न लागिन् “हैन दिदी सरी भन्नुपर्ने त केहि छैन,
म त्यो होटेलमा काम गर्ने होइन, त्यो त हाम्रै होटेल हो l बुवाले चलाउनुहुन्छ l”
हँ तिम्रो बुवाको होटेल?त्यसो भए तिमीले किन
त्यहाँ त्यस्तो काम गरेको अनि अस्ति तिमीलाई गाली गरिरहेको त्यो आइमाई को हो त ?” मैले
प्रश्न माथि प्रश्न गरिरहें l “मेरी आमा क्यान्सरले बिते पछि मेरा बाले दोस्रो
बिहे गर्नु भो lउहाँ मेरो आन्टी हो l” आँखाको आँशु सम्हाल्दै उनले भनिन् “मलाई त
अब कुनै दिन बेच्ने कि त मार्ने रे भन्ने सुनेको छु l” मेरो आँखा पनि रसाउन थालेका
थिए l सर कक्षामा प्रवेश गर्नुभयो l पेपर र प्रश्न दिनुभयो l म सरासर आफ्नो पेपर
लेखिरहें l त्यो दिन अनिताले मसंग मसी पनि मागिनन्, बरु म भन्दा छिटो लेखेर गइन् l
त्यो दिन परीक्षाको अन्तिम दिन भएकोले त्यो बर्षको पढाई पनि त्यहिँ सकियो l
नयाँ बर्ष पछि पहिलो दिन थियो मेरो स्कुलमा l
मैले स्कुलमा अनितालाई खोज्ने प्रयास गरें तर मैले उसलाई भेटिन l निशुलाई सोधे l
निशुले “खै अनितालाई त अब स्कुल पठाउदैनन् होला l” भनिन् l मलाई नरमाइलो लाग्यो l
दिनहरु त्यत्तिकै बितिरहेका थिए, मलाई अनितासंग
भेट्न मन लागिरहेको थियो l म घरको बराण्डामा बसेर चित्र कोरिरहेकी थिएँ l अचानक
भूकम्प आयो l त्यो बैसाख कहिले त्रिपाल र
कहिले घरमा बसेर बित्यो l जेठ देखि स्कुल जान थालेँ l
एकदिन म सृष्टीसंग समय निकालेर अनिताको होटेल गएँ
l उनले उसैगरी भाँडा माझिरहेको थिइन् l हामीले एकैछिन कुरा गर्यौ l
भित्र होटेलमा उनकी सौतेनी आमा रक्सीको मातमा
बर्बराइरहेकी थिइन् l “यो अनिते त मरेपनि हुने l काम पनि गर्दिन l अस्तिको
भूकम्पले पनि लगेन l कोठा भित्र थुन्दा पनि मरिन l भगवानले यस्तालाई किन बचाई
राखेका होलान् l टपक्क टिपेर नलगेर l” यो सबै कुरा अनिताले पनि सुनेकी थिइन्,
भक्कानिएर रुन थालिन् l हामीलाई पनि रिस उठ्यो “आन्टी तपाईले आफ्नो मुख सम्हालेर
बोल्नुस्, उसको जीवन माथि राज गर्ने तपाईको कुनै हक छैन l” मैले पनि भनिहाले “अनिताको
पनि जिन्दगी छ, बाच्न दिनुस् l ऊ तपाईको आफ्नै छोरी नभए पनि छोरी जस्तै त हो नि l सौताको
छोरी भनेर हेप्नु हुन्छ त l” उनी रिसाइन “चुप लाग, तिमीहरु जस्ता नाथेले मसंग
बोल्ने हिम्मत गर्ने l उम्रन पाको छैन तिन्पाते, मैले जे गरे अनि तिमीहरुलाई के मतलब?”
उनले उल्टै हामीलाई थर्काइन l सृष्टीले अझै
आन्टीलाई थर्काउन खोज्दै थिइन् तर रक्सीले मातेको मान्छेसंग झगडा गर्दा झन्
नराम्रो होला भनेर मैले उसलाई सम्झाएँ l अझै उसको रिस थामिएको थिएन l भुत्भुताउदै
घर पुग्यौं l सृष्टीले अनिताको आन्टीलाई भएभरको गाली दिई l
केहि दिन पछि स्कुलको लाइब्रेरीमा म किताब पढ्दै
थिएँ l
“सुन न थाहा छ?” निशु हड्बढाउदै बोलिन् l म
झस्किएँ l
“अनिता....अनिताको घरमा.....” ऊ झनै आतीई l मैले
कुरा नै बुझिन l
“के भनेको,.... अनिता.. अनिता भनेर....?” मेरो
कौतुहलता अझै बढ्यो l
“हिजो अनिताको घरमा पुलिस आएका थिए l अनिताको लास
भेटिएछ रे घरमा l”
“के भनेको?” मलाई अचानक सबै अध्यारो भए जस्तो भो
l
“अनिताको आन्टीले मारेको रे l आन्टीलाई जेल लगे,
२० वर्षलाई थुन्न l”
मलाई चक्कर लागे जस्तो भो l लाइब्रेरीका सबै
किताबहरु घुमे जस्तो भो l म न चिच्याउन सकें, न रुन सकें l न केहि बोल्न सकें l
किन भयो यस्तो? कसरी भयो यस्तो? के दोष थियो
बिचरा त्यो सानी नानीको? के पाप गरेकी उसले, यति चाडै यो संसार छोडेर जानुपर्ने?
मनमा प्रश्नका छालहरू उठ्न थाले l के हो यसको कारण? गरिबी? हाम्रो समाज? हाम्रो
शिक्षा? वा कुलत? के हो?
मलाई उसंग बिताएको समय फनफनी घुम्न थाल्यो l उसले
धारमाथि किताब राखेर पढेको l “दिदी मलाई पढ्न मन छ” भनेको l उसका सफा र मिलेका
अक्षर l सबै मेरो वरिपरी घुमे l
*****
आज धेरै दिन पछी टुक्रा-टुक्रा गुलाबका फूलका
पत्रहरु देख्दा त्यहि अनिताको याद आयो l ऊ फुल्नै नपाई झरेको एउटा फुल थिइ l
चम्किनै नपाई खसेको एउटा तारा थिइ l
**********
No comments:
Post a Comment